SANTAPKO DHOON
सन्तापको धून
पुस्तकको बारेमा
नेपाली भाषा-साहित्य क्षेत्रका युवा लेखक एवम् उपप्राध्यापक डा. अशोक थापाको प्रथम साहित्यिक कृति ‘सन्तापको धून’ कथासङ्ग्रह हो । पपर्यावरण, मिथकीयता, सामाजिक धारतलभित्रका मसिना तर गम्भीर विषय यस कथासँगालोका मुख्य विषयवस्तु छन् । भदौ दोस्रो हप्ताबाट बजार प्रवेश गर्ने यस कथासङ्ग्रहबाट पाठकहरूले नवीन स्वादको पाठकीय अनुभूति गर्नेछन् भन्ने विश्वास हामीले लिएका छौँ । मानवजीवनमा सन्ताप सँगसँगै छ । हृदयमा सन्ताप नभएका व्यक्ति हुँदैनन् । सन्ताप उर्जा पनि हो जिउँदो छु भन्नेका लागि । कसैलाई बाँढेर पनि सन्ताप आत्मबाट सजिलै दूर हुँदैन । फलतः सन्ताप छ र त जीवनमा रोमाञ्चक मोडहरू छन् । खासमा अन्योन्याश्रित सम्बन्ध देखिन्छ यी दुईका बीचमा । शान्त सुखाएमा भन्दा जिन्दगी बाँच्नको मजा सन्तप्त जीवनमा अधिक छ । सन्तापलाई न भित्रै दबाएर सुखानुभूति गर्न सकिन्छ न अरूलाई वितवरण गरेर पूर्णनिर्मूल । सन्तापलाई जीवनको धून सम्झेर उत्सवमय बनाउँदै लाने हो भने मात्र सच्चा जीवन जिउन सकिन्छ भन्ने भाव सम्प्रेषण भएको छ ‘सन्तापको धून’ कथासङ्ग्रहमा । नयाँ पुस्ताका पाठकका रुचिहरू अनेक हुने नै भए । उनीहरूले नेपाली किताब पढ्नुलाई आफ्नो चाहनाको फ्रेमभित्र नपार्न पनि सक्छन् । तर त्यस्ता पुस्तक जसले उत्प्रेरणाका उज्याला सम्भावनका ढोका खुलाउने अभिप्राय राखेका हुन्छन् ती पुस्तक जरुर युवापाठकका ढुकढुक बन्दछन् ।
– Page Turner
‘सन्तापको धून’ यो वर्ष अहिलेसम्म नेपाली साहित्य बजारमा आएका कथा–संग्रहहरू मध्ये उत्कृष्ट लाग्यो । भाषाको मिहिनता, काव्यिक शैली र टपक्क टिपेर थपक्क राखेका ग्रामीण जीवनशैलीले कथाहरूलाई साँच्चै पठनीय बनाएका छन् । पछिल्लो दशकमा मैले गण्डकी जलाधार क्षेत्रभित्र लेखिएका यति शक्तिशाली कथाहरू पढेको यो पहिलो संग्रह पनि हो ।
नाटकमा विद्यावारिधि गरिसकेर आफूलाई डा.मा रूपान्तरण गरेका मेरा समवयका स्रष्टा अशोक थापाले कथा मात्र लेखेका छैनन्; आफैंलाई घोप्ट्याएका छन् । समाजमा घटेका, घटिरहने परिघटना र त्यसले हुडल्ने मानवीय संवेदनालाई दुरुस्त टिपेर काव्यिक शैलीमा उतार्नु गज्जबको शैली मानेको छु, मैले ।
कथाहरू पढिरहँदा हरेक पात्र आफू नजिकै भएको, आफैंले भोगेको वा आफैंले तिनको फोटो खिचिरहेको अनुभूति हुन्छ । समाजभित्र सुसुप्तरूपमा रहेका, अझ भनौं छोपिएका; ती पुराना पानीचित्रलाई कथाकार थापाले कस्तो मज्जाले वर्तमानको फोटोसप प्रयोग गरेर चम्काएका छन्, वर्णन गरिसाध्य छैन । ती कथामात्रै होइनन्, थापाका भोगाइ हुन्, समाजका वास्तविकता हुन् र समाजले दपेडेका आवाजहरू हुन् ।
संग्रहभित्रका १३ वटै कथाहरू उत्कृष्ट हुँदा–हुँदै मलाई विशेषतः अन्तिमका तीन कथाः बेचेका कूलदेवता, सन्तापको धून र नर–कंकालको गीत अझ मन पर्यो । कथा पढिसकेर राति सुत्दा धेरैबेरसम्म मलाई निद्रा लागेन । मैले बेचिएका कूलदेवताको रामनरेशका ठाउँमा आफूलाई उभ्याइरहेँ । सतापको धून बजाइरहने आरन किस्नेमा आफूलाई रूपान्तरण गरिरहेँ र नर–कंकालको गीतमा ती हजारौं निर्दोष जीवनहरूको अस्तित्व खोजिरहेँ ।
गण्डकी पानीढलोभित्रको लोकजीवनलाई यति सशक्तरूपमा उभ्याउन सक्ने कथाकार थापा मेरो पुस्ताका अग्रणी स्रष्टा हुन् भनेर मैले भनेँ भने कसैले चोसो नपसार्ला ! आञ्चलिक स्वादले भरिपूर्ण कथाहरू पढ्ने अवसर प्रदान गरेकोमा थापाप्रति पुनः आभार व्यक्त गर्दछु । अहिलेलाई यहीँ रोकिँदै व्यस्त समयबाट उछार पाइयो भने यी कथाहरूका विषयमा अलग्गै लेख्ने धोको छ ।
– लक्ष्मण वियोगी
कर्मक्षेत्रमा हिँड्दाहिँड्दै र साँझ बिहानको फुर्सदलाई उपयोग गर्दागर्दै ‘सन्तापको धून’ पढिभ्याएँ ।
यही समाजको राप र तापले पिल्सिएका पात्रहरूको हृदयको गहिरो आवाज रहेछ – सन्तापको धून !
यो कृति पढ्दैगर्दा यसभित्रका पात्रहरूका मर्मभेदी कथा र तिनका आँसुले छोइएर म स्वयम् धेरैचोटि रोएँ, भक्कानिएँ, कहालिएँ ।
‘सन्तापको धून’ – जसमा बाल्यकालदेखि आजसम्म देखे/भेटेका आफ्नै आफन्त र इष्टमित्र र समाजको अनुहार झल्मलाएका कारण पनि होला म पटक पटक आकुल व्याकुल बनेँ ।
डढुवाई आमाको कथा, गाजल बेच्ने केटी,सन्तापको धून र नर-कङ्कालको गीतले परेला भिजाइरहे ।
समाजका किनाराकृत तप्कादेखि प्रकृतिसम्म र समाजका परम्परागत मूल्यदेखि आधुनिकतासम्म सानो पुस्तकमै गजबसित अटाएर सम्प्रेषण गर्न सक्ने कलमवीर कथाकार डा. अशोक थापालाई पाठकहृदयबाट हार्दिक बधाई एवम् साधुवाद अर्पन्छु ।
यस्तै उम्दा कृतिहरू भविष्यमा पनि पटक पटक पढ्न पाऊँ !
शुभकामना छ प्रिय कथाकार !
– भवानी खतिवडा
-
PublisherPAGE TURNER PVT. LTD.
-
Genre
-
LanguageNepali
-
Published2079/05/18
-
EditionFirst
-
OriginNepal
-
ISBN139789937932097
-
ISBN109937932092
-
Pages290
-
Dimensions5.2 x 7.7 x 0.7 “
-
Weight208 g
-
Subject
Story
-
PAGE TURNER PVT. LTD.
-
015913771
-
Hotel Snow Lion Building KMC-28, Bagbazar, Kathmandu, Nepal
-