डा. थापाको ‘सन्तापको धून’ कथासङ्ग्रह प्रकाशित हुँदै !
डा. थापाको ‘सन्तापको धून’ कथासङ्ग्रह प्रकाशित हुँदै !नेपाली भाषा-साहित्य क्षेत्रका युवा लेखक एवम् उपप्राध्यापक डा. अशोक थापाको कथासङ्ग्रह ‘सन्तापको धून’ प्रकाशनको अन्तिम तयारीमा पुग्दा हामी हर्षित छौँ । आज साउन १५ गते खीर खाने दिनको अवसर पारेर यस कृतिको आवरण सार्वजनिक गरेका छौँ । पेज टर्नर प्रा.लि., काठमाडौँबाट हामीले प्रस्तुत कथासङ्ग्रहसँगै प्रकाशनारम्भ गरेका छौँ ।पर्यावरण, मिथकीयता, सामाजिक धरातलभित्रका मसिना तर गम्भीर विषय यस सँगालोमा समेटिएका कथाका मुख्य विषयवस्तु हुन् । भदौ दोस्रो हप्ताबाट बजार प्रवेश गर्ने यस कथासङ्ग्रहबाट पाठकहरूले नवीन स्वादको पाठकीय अनुभूति गर्नेछन् भन्ने विश्वास हामीले लिएका छौँ । मानवजीवनमा सन्ताप सँगसँगै छ । हृदयमा सन्ताप नभएका व्यक्ति हुँदैनन् । सन्ताप ऊर्जा पनि हो जिउँदो छु भन्नेका लागि । कसैलाई बाँडेर पनि सन्ताप आत्माबाट सजिलै दूर हुँदैन । सन्ताप छ र त जीवनमा रोमाञ्चक मोडहरू छन् । खासमा अन्योन्याश्रित सम्बन्ध देखिन्छ यी दुईका बीचमा । स्वान्त सुखायमा भन्दा जिन्दगी बाँच्नको मजा सन्तप्त जीवनमा अधिक छ । सन्तापलाई न भित्रै दबाएर सुखानुभूति गर्न सकिन्छ न अरूलाई वितरण गरेर पूर्णनिर्मूल हुन्छ । सन्तापलाई जीवनको धून सम्झेर उत्सवमय बनाउँदै लाने हो भने मात्र सच्चा जीवन जिउन सकिन्छ भन्ने भाव सम्प्रेषण भएको छ ‘सन्तापको धून’ कथासङ्ग्रहमा ।नयाँ पुस्ताका पाठकका अनेक रुचिहरू भित्र यो कथा संग्रहले आफ्नो दरिलो स्थान ओगट्ने कुरामा हामी विश्वस्त छौँ । उनीहरूलाई नेपाली किताब पढ्नतिर यसले अवस्य प्रेरित गर्नेछ । त्यस्ता पुस्तक जसले उत्प्रेरणाका उज्याला सम्भावनाका ढोका खुलाउने अभिप्राय राखेका हुन्छन् ती पुस्तक जरुर युवापाठकका ढुकढुकी बन्नुपर्छ । जटिलताभित्र पनि ऊर्जाको नयाँ गोलार्द्ध उघार्न सक्षम नयाँ कथासङ्ग्रह ‘सन्तापको धून’ बजारमा ल्याउन पाउँदा उत्साहित छौँ ।त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभाग कीर्तिपुरमा प्राध्यापनरत डा. थापा पोखराका स्थायी बासिन्दा हुन् । यो उनको पहिलो कथासङ्ग्रह हो ।